दफा ७३
निर्वाचन सम्बन्धी कागजातको गोप्यता
(१) निर्वाचनमा प्रयोग भएको कागजात वा विधुतीय उपकरणबाट मतदान भएकोमा त्यस्तो अभिलेखमध्ये मतगणनाको प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी तोकिएको अधिकारीको जिम्मामा राखिनेछ ।
(२) उपदफा (१) बमोजिमको सिलबन्दी मतपत्रको अधकट्टी, मतदानमा प्रयोग गरिएको मतदाता नामावली र सिलबन्दी गरिएको सदर तथा बदर भएको मतपत्रहरु प्रचलित कानून बमोजिम परेको उजुरीको सिलसिलामा अदालतले मात्र खोल्न र हेर्न सक्नेछ । अदालत बाहेक
अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो सिलबन्दी खाम, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन ।
(३) उपदफा (२) बमोजिम अदालतले खोली हेरिसकेपछि अदालतले ती कागजात वा अभिलेख यथारुपमा सिलबन्दी गरी राख्नु पर्नेछ ।
(४) यस दफामा उल्लिखित कागजात वा अभिलेख मुद्दा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्दा नपरेकोमा उजुरी गर्ने म्याद भुक्तान भएको मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।